
काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा लागू हुने भएको छ । यसअघि प्रधानन्यायाधीशले इजलास गठन गर्ने र मुद्दाको पेसी तोक्ने व्यवस्था भएकामा आजदेखि गोलाप्रथा लागू हुने भएको हो । गोलाप्रथा सुरु भएसँगै अब प्रधानन्यायाधीशले कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पार्ने भनेर तोक्ने काम हुने छैन ।
अब सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला तान्ने र मुद्दाका लागि पुनः अर्को गोला तानेर निर्धारण गरेपछि मात्रै सुनुवाइ सुरु हुनेछ । गोला प्रक्रियालाई पारदर्शी बनाउन सर्वोच्च अदालतको सीसीटिभी क्यामरामा समेत सुरक्षित राखिने बताइएको छ । दैनीक पेसी सूची बिहान साढे १० बजेभित्र सर्वोच्चको वेबसाइटमा प्रकाशित हुनेछ ।
गत कात्तिक ७ गतेबाट प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरु पनि गोलाप्रथा लागू हुने भएपछि इजलास फर्किन तयार भइसकेका छन् । तर उनीहरुले नियमित मुद्दामा सुनुवाइ भने गरेका छैनन् ।गोलाप्रथा सुरु भएसँगै सबै न्यायाधीशले सबै मुद्दाको सुनुवाइ थाल्ने निर्णय भएको छ । गोलाप्रथाले पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वासनीय बनाउने जानकारहरुले बताएका छन् ।