
१४ मंसिर,काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी दिएको छ ।डब्लुएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने भन्दै चिन्ता समेत ब्यक्त गरेको छ ।
साथै उसले गरिब देशहरुमा खोपको पहुँच पु¥याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन्। दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ।
धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् आजबाट जापानले पनि बिदशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेसँगै विभिन्न मुलुकसँगको हवाइ सेवा बन्द गरेको बेलायतले पनि आज मंगलबारबाट थप कडाइ गरेको छ । यता दक्षिण अफ्रिकाले भने सबैदेशले लगाएको प्रतिबन्ध यो अन्यायपूर्ण रहेको बताउँदै तत्काल प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।