
काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाइ सुद्धिकरण र काँग्रेसको रुपान्तरणको लागि आवश्यक भावी योजना सार्वजनिक गर्नुभएको छ । आज विज्ञप्ति निकालेर बरिष्ठ नेता पौडेलले पार्टीको भविश्यको लागि अभियान नै चलाउनुपर्ने बताउदै त्यसका लागि १० बुँदे रणनिति प्रस्तुत गर्नुभएको छ ।
नेता पौडेलले अधिवेशनको मुखमा लगेर कृयाशील सदस्यता वितरण गर्ने परिपार्टी अन्त्य गरि सुरुदेखि नै कृयाशील नवीकरण र वितरण कायम राखेर कार्यकाल पूरा हुने एक वर्ष अगावै वितरण बन्द गर्ने, भातृसंस्था र पार्टी निकायका अधिवेशन तोकिएकै समयमा गराउने काम गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै, तोकिएकै समय भित्र विभाग, प्रतिष्ठान गठन गर्ने र सवै निकाय दुरुस्त राख्ने, संगठनका सदस्यहरूलाई सैद्धान्तिक, व्यवहारिक र नीतिगत तालिम प्रदान गर्ने तालिमको लागि पूर्ण व्यवसायिक टिमको निर्माण गर्ने जस्ता काममा ध्यान दिनुपर्ने पनि नेता पौडेलले बताउनुभएको छ ।
कार्यकर्ताको ज्ञान वृद्धिका लागि विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराउने , प्राविधिक ज्ञान तथा अनुभवबाट गर्न सक्ने व्यवसायका लागि आर्थिक तथा कानुनी प्रबन्ध मिलाउने, न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनको परिपाटी अबलम्बन गर्ने उपाय पनि नेता पौडेलले बताउनुभएको छ ।
विधि–पद्दति र अनुशासनमा तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सबै बाँधिएको खण्डमा पार्टी एकता मजबूत हुने, पुराना निष्ठावान कार्यकर्ताको हितमा आँच नपुग्ने गरी नवप्रवेशीहरूको स्वागत गर्नुपर्ने, पार्टीमा सबैलाई सहभागिता र सहस्वामित्वको अनुभूति दिलाउने व्यवहार र आचारण गरिनु पर्नेमा पनि उहाँले जोड दिनुभएको छ । यस्तै राजनीतिलाई स्वच्छ र स्वस्थ पार्न पार्टी भित्र र बाहिर बैचारिक बहस चलाउनु आवश्यक रहेको नेता पौडेलको भनाइ छ ।