
काठमाडौं । नेकपा एमालेको राष्ट्रिय सम्मेलन अन्तर्गत आज बन्दसत्र चल्दैछ । चितवनको नारायणी नदी किनारमा हिजो उद्घाटन गरिएको महासधिवेशनको बन्दसत्र आज बिहान ९ बजेभित्रमा सुरु गर्ने तयारी भइरहेको एमाले नेता तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बन्दसत्रमा गएराति बसेको केन्द्रीय कमिटीको निर्णय पारितका लागि पेश गरिने पनि उहाँले जानकारी दिनुभयो ।
सहमतिबाटै नेतृत्व चयन गर्ने रणनीति अनुसार नेकपा एमालेले पार्टीको विधान संसोधन गरी पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको छ । गएराति बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको विधान संसोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बनाएको भए पनि गएरातिको बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीसँगै पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा भएको सहमति अनुसार अब एमालेको कन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय बन्ने, १५ सदस्यीय पदाधिकारी रहने यसअघिको व्यवस्थालाई परिवर्तन गरी १९ सदस्यीय बनाउने, ९९ जना पोलिटब्यूरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहने नेता विष्णु रिजालले सीआईएनलाई जानकारी दिनुभयो । एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि सौराहा बैठकले पारित गरेको छ । यसअघि एमालेले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।
यस्तै नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता समेत तयार पारिएको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गरि लोकतान्त्रिक मूल्य मान्यताको आधारमा नेतृत्व चयन गर्ने प्रयोजनको लागि आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका संयोजक विजय सुब्बाले जानकारी दिए ।
एमालेको विधान (२०७८को संशोधन सहित),२०४९को धारा २६(५)(ज)को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता निर्माण गरिएको हो ।८ बुँदे आचारसंहितामा निर्वाचनका समयमा पालना गर्नुपर्ने सामान्य आचरणहरूको विषय समेत उल्लेख गरिएको छ ।