
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् ।
साथै अध्यक्ष ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताए । उनले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताए । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उनको भनाइ छ ।