
काठमाडाैं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिक्ष नेपालको भएको बताएका छन् । साना भुउपग्रह यसअघिनै पठाइ सकिएको भन्दै उनले अब ठूलो भुउपग्रह पठाउने बताए । चितवनमा जारी आफ्नो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब देशका कामहरु स्टारलाइटको माध्यमबाट हुने बताए ।
“समुन्द्रमा सानो भुउपग्रह पठाइसक्यो, अब ठूलो पठाउँछौं, अब अन्तरिक्ष पनि हाम्रो हो , दाबी गछौं,” उनले भने । आफ्नो सरकारले अन्तरक्षिमा ठाउँ सुरक्षित गरेको पनि बताए । “समुन्द्र पनि हाम्रो हो, अन्तरिक्ष पनि हाम्रो हो । ”
साथै अध्यक्ष ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताए । उनले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताएका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताए । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उनको भनाइ छ ।