विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्छ : प्रधानमन्त्री देउवा

[sharethis-inline-buttons]

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वार्थका कारण विभिन्न दलहरु विभाजन भएको बताउनुभएको छ ।

नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालका राजनीतिक दलहरु स्वार्थमा विभाजित भएको बताउनुभएको हो । उहाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउने यात्रामा प्रतिबद्ध हुन आह्वान नेकपा एमालेलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको भएकाले संवाद मार्फत विभिन्न समस्या समाधान गर्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै आफूले जेल जीवन बिताएको स्मरण समेत गर्नुभयो । हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले एमाले नेतृत्वलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार