चितवन । एमालेले आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनमा हँसिया हथौडा अङ्कित झण्डा बोकेको गैँडाको मस्कटले धेरैको ध्यान तानेको छ ।हाधिवेशनको लोगोमै अङ्कित भएको गैँडाको मस्कटलाई मञ्चको दाहिनेतर्फ राखिएको छ । यसले महाधिवेशनमा आकर्षण त बढाएको छ नै साथै गैँडा संरक्षणमा लागेका संरक्षणकर्मीहरू पनि खुशी छन्। एमालेले गैँडालाई मस्कटको रुपमा प्रयोग गर्दा गैँडा संरक्षणमा एकैपटक व्यापक सन्देश प्रवाह भएको संरक्षणकर्मीहरूको भनाइ छ।
यस्तै नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ । दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइन् ।
आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो ।आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष रावलले बताउनुभयो । महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताउनुभयो ।
चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गर्नुभएको छ ।