एमाले महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने

[sharethis-inline-buttons]

चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ । दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइन् ।

आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो ।आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष रावलले बताउनुभयो । महाधिवेशन उद्घाटनमा सहभागी हुनका लागि पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको रावलले बताउनुभयो ।

चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलको भनाइ छ ।चितवनका सात वटै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनहरुबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलको भनाइ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरुको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरुलाई संयमित हुनका लागि जिल्ला अध्यक्ष रावलले आग्रह गर्नुभएको छ ।

जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरीबाट पाँच लाख मानिसहरु नदी किनारमा उतार्ने बताउनुभयो ।महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरु चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार