एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा काँग्रेसको अधिवेशन आज

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसले एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा आज अधिवेशन गर्ने भएको छ । काठमाडौँ लगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू गर्न लागिएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने भएकाले पछि जिल्ला अधिवेशन गर्ने तयारी छ ।

चितवनमा भने आज एमालेको महाधिवेशन भएकोले काँग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा भने अधिवेशन सम्पन्न भएको छ । तीन जिल्लाको भने मत परिणाम आउन बाँकी छ ।

मङ्सिर ६ गतेदेखि सुरु भएको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा हिजो अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ । काँग्रेसले आउँदो १६ र १७ गते प्रदेश अधिवेशन गर्दैछ ।

१६५ निर्वाचन क्षेत्रमध्ये १२६ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि सकिसकेको काँग्रेसको प्रतिनिधि सभा क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि २६ जनाका दरले प्रतिनिधि आउँनेछन् । एक मात्र सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मङ्सिर ६ मा जिल्ला अधिवेशन भएको थियो । त्यसअघि १४ हिमाली जिल्लामा अधिवेशन सकिएको थियो । काँग्रेसले यही २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।


प्रकाशित : २०७८ मंसिर १० शुक्रबार