
काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।
एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए ।
महाधिवेशनमा भाग लिने प्रतिनिधि रातिको समयमा बिरामी भएको अवस्थामा उनीहरु बसेको होटलमै पुगेर चिकित्सकसहितको स्वास्थ्य प्राविधिक टोलीले उपचार गर्ने पौडेलले बताए । बन्दसत्र अवधिमा प्रतिनिधि बस्ने होटल तथा विशिष्ट व्यक्ति बस्ने होटललाई लक्षित गर्दै विशेष एम्बुलेन्ससहितको स्वास्थ्यकर्मी परिचालन गरिएको पौडेलले जानकारी दिए।