
काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुने एमालेले जनाएकाे छ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले अब चितवन महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनको उद्घाटन मध्याह्नपछि हुने नेकपा एमालेले जनाएको छ । उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस नारायणी नदी किनारमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । उद्घाटन समारोहमा पाँच लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ । भीड व्यवस्थापनका लागि भन्दै स्थानीय प्रशासनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ खण्ड र नारायणगढको मुख्य बजारक्षेत्रभित्र आज बिहान ९ बजेदेखि अत्यावश्यक सेवाका बाहेक अन्य सबै सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् । कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
साथै उद्घाटन सत्रमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने एमालेले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ । भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।