
काठमाडौं ।अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्नु भएको छ ।प्रतिनिधिमण्डल बुधवार बेलुका ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यस तर्फ प्रस्थान गरेको हो ।
सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई रहनु भएको छ ।
यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के।सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी हुनुहुन्छ ।
अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ ।