प्रचार नहुँदा घोर्ले झरना ओझेलमा

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा – संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको घोर्ले झरनाको प्रचार नहुँदा ओझेलमा परेको छ । आकर्षक देखिने यो झरना प्रचारप्रसार नहुँदा गुम्नाम बन्दै गएको छ । यो झरना चैनपुर–बाह्रबिसे सडक खण्ड अन्तर्गत जौंबारीबाट १० किलोमिटर उत्तर–पूर्वमा पर्छ । तीन तह भएर बगेको यो झरना १ सय ९१ मिटर अग्लो रहेको छ ।

जिल्ला तथा नगरपालिकाको पर्यटकिय सम्भावना बोकेको झरना भएपनि प्रचार अभावमा पर्यटकहरु आउन र झरनाको अवलोकन गर्न सकेका छैनन् । झरनासम्म सडक सञ्जालसमेत जोडिएको छ । तर कच्ची सडकका कारण हिउँदका महिनामा मात्र यातायातका साधन आवतजावत गर्ने गरेको छ ।

धार्मिक आस्था जोडिएको यो झरनाको शिरमा पञ्चकन्न्या देवीको थान रहेको विश्वास गरिन्छ । झरनासँग नजिकै रहेको नागेश्वर महादेव गुफाको धार्मिक आस्था पनि जोडिएको स्थानीय भिम बहादुर बुढाथोकीले बताए । किम्बदन्ती अनुसार उक्त झरनामा महादवल स्नान गरी गुफामा बास बसेको र नागेश्वर महादेव गुफाको उत्पति भएको पाइन्छ ।

तर झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागी गत वर्ष घोर्ले झरना पर्यटन विकास केन्द्र स्थापना गरिएको थियो । उक्त केन्द्रको पहलमा घोर्ले झरनालाई पर्यटन विकास गर्न विभिन्न तहका सरकारबाट सहयोग भइरहेको छ । आर्थिक वर्ष २०७२÷०७३ मा सांसद विकास कोषबाट सडक निर्माणका लागि १० लाख रुपैंया बजेट बिनियोजन गरिएको थियो । उक्त रकमले झरना जाने सडकको ट्रयाक ओपन गरिएको थियो ।

यस्तै २०७३/०७४ मा नगरपालिकाको पहिलो नगरपरिषदले सडक मर्मतका लागि ८ लाख रुपैंया बजेट विनियोजन गरेको थियो । यस वर्ष प्रदेश सरकारबाट २० लाख र नगरपालिकाबाट ५ लाख रुपैंया बजेट विनियोजन भएको छ । उक्त रकमले पुर्वाधार विकासका कामहरु भइरहेको केन्द्रका अध्यक्ष दुर्गा निलम श्रेष्ठले बताए ।

झरनाको प्रचारप्रसारका लागी केन्द्रले गत वर्ष पाँचखपन नगरपालिकामा घोर्ले झरना संरक्षण संम्बद्र्धन तथा प्रचार सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम गरेको थियो । हालै केन्द्रले सदरमुकाम खाँदबारीमा प्रचार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अब भने झरनाको विकास गर्न केन्द्रले गुरुयोजना बनाएर अघि बढ्नु पर्ने छ ।


प्रकाशित : २०७८ मंसिर ८ बुधबार