
काठमाडौँ – सर्वोच्च अदालतमा गोलाप्रथा लागू गरी पेशी तोक्ने प्रणाली मंसिर १५ देखि लागु हुने भएको छ। भोलि (बिहीबार) बस्ने सर्वोच्चको फुलकोर्ट बैठकबाट ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ लागु गर्ने निर्णय लिइने न्यायाधीशहरूले बताएका छन्।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार सर्वोच्च अदालतको पूर्ण (फुलकोट) बैठक बोलाउन आग्रह गरेका थिए । सोही अनुसार प्रधानन्याधीशले बैठक आह्वान गरिसकेका छन्।
१ मंसीरमा गोलाप्रथाबाट पेशी तोक्न सर्वोच्च अदालतले ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ कार्यविधि तयार पारेको थियो । २ मंसीरमा सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेशी व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका पारित भएको थियो।
६ मंसीरमा उक्त संशोधन राजपत्रमा प्रकाशित भएको थियो। बुधबार बसेको न्यायाधीशहरूको बैठकले १५ मंसीरबाट गोलाप्रथा कार्यान्वयन गर्ने निर्णय गरेका छन्। बिहीबार बोलाइएको फुलकोर्ट बैठकले औपचारिक निर्णय लिने न्यायाधीशहरू बताउँछन्।