
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच आज कम्युनिष्ट आन्दोलन, टुटफट, रुपान्तरण र एकता, वर्तमान सामाजिक वस्तुगत अवस्थामा नेपाली क्रान्तिको मोडेल र कम्युनिष्ट शक्तिबिच एकताको आवश्यकता लगाएतका विषयमा लामो छलफल भएको छ ।
माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) बिच आज बिहान लालितपुरमा उक्त छलफल भएको हो । करिब तीन घण्टा लामो छलफलसँगै दुबै पार्टीका नेताहरुमा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुको बिचमा बलियो मोर्चाबन्दी, सहकार्य र एकतामा जोड दिनुपर्नेबारे साझा धारणा बनेको छ ।
उक्त छलफलको क्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा पार्टी निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ का केन्द्रीय अध्यक्ष मनराज कठायत लगाएतको समेत सहभागिता रहेको थियो ।
छलफलको क्रममा नेकपाका नेता सुदर्शनले नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलको रुपमा अघि सारेका विषयहरु सान्दर्भिक रहेको र ति विषयहरुमा आफ्नो पार्टीमा समेत छलफल भैरहेको बताएका थिए । उनले यस्तो प्रकारका छलफलले विशाल जनप्रिय कम्युनिष्ट पार्टी निर्माण र क्रान्तिकारी आन्दोलन उठानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै खुशी समेत ब्यक्त गरे ।
नेता सुदर्शनले जनयुद्ध नेपाली क्रान्तिकारी आन्दोलनको ऐतिहासिक कालखण्ड भएकाले त्यसका उपलब्धी र बाँकी कार्यभार लगाएत सबै आन्तरिक पक्षहरुबारे वस्तुवादी ढंगको समिक्षा गर्नुपर्नेमा समान धारणा राखेका थिए ।
उनले नेपाली क्रान्तिकारी आन्दोलन विजयतिर उन्मुख भैराखेको तत्कालिन अवस्थामा केही नेताहरुको गद्दारीका कारण गम्भिर धोका भएको भन्दै जनयुद्धको निरन्तरतामा आफ्नो पार्टीले एकिकृत जनक्रान्तिको तयारी गरिरहेको बताए ।
उनले सरकारी कम्युनिष्टहरु बाट क्रान्तिकारी आन्दोलनमा त्यतिसारो अपेक्षा गर्न नसकिने भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बिचमा बलियो मोर्चाबन्दी, कार्यगत एकता गर्दै अन्त्यत विशाल बलियो, जनप्रिय कम्युनिष्ट पार्टी निर्माणका गरेर निर्णायक संघर्षको तयारीमा आफ्नो पार्टी लागेको बताए । उनले कम्युनिष्ट एकताकै प्रकृयामा विभिन्न चार क्रान्तिकारी पार्टीबिच रणनीतिक मोर्चा निर्माण गरेको तथा देशभक्त, बामपन्थि तथा प्रगतिशिल शक्तिहरुको मोर्चा र कार्यगत एकतामा समेत जोड दिदै आएको विषय प्रष्ट पारेका थिए ।
उनले एकिकृत जनक्रान्तिको तयारी र आफ्नो पार्टीको विषयमा बाहिर आएका हल्ला तथा यथार्थ कुराहरुको विषयमा सविस्तार व्याख्या गर्दै आफ्नो पार्टीले आन्तरिक र बाहिर्य राष्ट्रियता बिचको लडाईलाई वर्गिय आन्दोलनसँग जोडेर द्धन्द्धात्मक भौतिक शास्त्रको आधारमा एकिकृत जनक्रान्ति सम्पन्न गर्ने तयारी गरिरहेको बताए ।
उनले किसान, सुकम्बासी, सिपाही, राष्ट्रिय पूजिपती र मजदुरवर्गलाई जोडेर तयारीका विभिन्न स्टेपहरु पुरा गर्दै जनक्रान्ति सम्पन्न गर्ने दिशामा आफ्नो पार्टी रहेको भन्दै क्रान्तिकारी योजनामा प्रतिवद्धता व्याख्या गरेका थिए ।
त्यसक्रममा उनले माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकेशलाई छलफललाई थप निरन्तरता दिन सल्लाह दिएका थिए । त्यस क्रममा उनले रातोखबर प्रकाशन प्रा.लि. ले प्रकाशन गरेको आफैले लेखेको ‘विश्वदृष्टिकोणमा रुपान्तरण’ नामक पुस्तक समेत महासचिव लोकेशलाई हस्तान्तरण गरेका थिए ।
उक्त भेटघाटमा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले जनयुद्धमा जनसमर्थन बढ्दै गर्दा, क्रान्तिको उभारको अवस्थामा गरिएको सम्झौतादेखि नै गद्दारीको श्रृखला शुरुवात भएको भन्दै अब विभाजित सबै माओवादी शक्तिहरुले जनयुद्धको गम्भिर समिक्षा गर्दै क्रान्तिबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै बाँकी कार्यभार सम्पन्न गर्ने दिशामा बडो इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।
महासचिव लोकेशले जनयुद्धका माओवादी शक्तिहरु बिचको विभाजनबाट मुलुकमा दक्षिणपन्थि अवसरवादी, प्रतिकृयादी शक्तिहरुले प्रश्चगामी सड्यन्त्र गरिरहेको तथा प्राप्त उपलब्धी गुम्ने खतराका साथै बाँकी क्रान्तिका कार्यभारहरु पुरा गर्न समस्या झेल्नुपर्ने अवस्था विकसीत हुँदै गएकोबारे आफ्नो धारणा सविस्तार व्याख्या गरेका थिए ।
माओवादीका विरुद्ध माओवादी नै उत्रिनुपर्ने वर्तमान अवस्था विभिन्न यथास्थितिवादी, सामान्ती दलाल तथा सुधारवादी कम्युनिष्ट शक्तिहरुको कारणले उत्पन्न भएको भन्दै उनले माओवादीहरुले परिवर्तनको मुद्दा र आन्दोलनमा कम्तिमा पनि आ आफ्नो ठाउँबाट सहजताको भूमिकासम्म खेल्ने हिम्मत जुटाउँनुपर्ने र त्यसका लागि ठूला पार्टी र नेताहरुले ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा गम्भिरतापूर्वक पहल गर्नुपर्ने धारणा राखेका थिए ।
उनले विचार, सिद्धान्त, कार्यदिशा र कार्यक्रम मिल्ने सँग तत्काल एकता गर्ने तथा कम्युनिष्ट पार्टीको दृर्घकालिन लक्ष्य प्राप्तिको आन्दोलन तथा कार्यक्रममा मात्र भएपनि सहमत हुने शक्तिहरुबिच आन्दोलनको संयुक्त मोर्चा बनाउँदै त्यसमा सबैलाई समेटेर सहकार्य गर्नुपर्नेमा सुझाव राखेका थिए ।
जनयुद्धको निरन्तरतामा क्रान्तिकारी आन्दोलनको नेतृत्वमा कुनैपनि पार्टीहरुले विश्वसनीय पहल गर्न नसकेको वर्तमान अवस्थामा सबै कम्युनिष्ट, प्रगतिशिल देशभक्त शक्तिहरु बिचको संयुक्त मोर्चाको अत्यन्त ठूलो आवश्यकता रहने भन्दै उनले त्यस विषयमा अझ गम्भिर रुपमा सोच्नका लागि सबै अग्रज नेताहरु प्रचण्ड, मोहनबैद्य किरण, विप्लव लगाएत अरु सबै कम्युनिष्ट पार्टीका शिर्षनेताहरुलाई आफ्नो पार्टीले अनुरोध सहित वृहत कम्युनिष्ट एकताको पक्षमा वहस अभियान चलाइरहेको समेत बताए ।
उनले आफ्नो पार्टीको कार्यक्रम तथा योजना अनुसार नेपाली क्रान्तिकारी आन्दोलनलाई निरन्तरतामा विकास गर्नका लागि आफुहरु विभिन्न पार्टी, समूह र आम जनसमूदायसँग समेत छलफलमा जुट्दै गरेको सन्दर्भमा आज नेत्रविक्रम चन्द विप्लव कमरेडले नेतृत्व गरेको जनप्रिय पार्टी नेकपासँग समेत छलफल गरेको विषय सामाजिक सञ्जाल फेसबुक मार्फत प्राष्ट पारेका छन ।
छलफलपछि पुनः अर्को चरणमा अझ गम्भिरतापूर्वक छलफललाई निरन्तरता दिनुपर्नेमा दुबै पार्टीका नेताहरुले जोड दिएका थिए । माओवादी केन्द्र (क्रान्तिकारी) ले कम्युनिष्ट एकताको सन्दर्भमा यसअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (माले) लगाएत विभिन्न प्रगतिशिल देशभक्त पार्टी, समूह र आमजनसमूदायसँग छलफल गरेको छ र त्यसलाई निरन्तरता दिने बताउँदै आएको छ ।