प्यूठानमा मतगणनास्थलमा झडप हुँदा घाइते भएका ६ जनाको उपचार हुँदै

[sharethis-inline-buttons]

काठमाडौं । प्यूठानमा क्षेत्रीय प्रतिनिधि छनोटको मतगणनास्थलमा दुई समूहबीच झडप हुँदा घाइते भएका ६ जनाको उपचार भइरहेको छ । नेपाली काँग्रेसको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको मतगणना भइरहेका बेला झडप हुँदा ३ जना सुरक्षाकर्मी र ९ जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमध्ये १ जना सुरक्षाकर्मीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र अर्का एक जना सुरक्षाकर्मीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी घाईते कार्यकर्ता मध्ये २ जनाको लुम्बिनी प्रादेशिक अस्पताल र १ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक जेवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सबैको अवस्था सामान्य छ । प्यूठान नगरपालिकाको विजुवारमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद भएपछि झडप भएको थियो । स्थिती नियन्त्रणमा लिने प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।


प्रकाशित : २०७८ मंसिर ८ बुधबार