
काठमाडौं ।महाधिवेशन स्थल चितवनको नारायणी नदी किनारमा मञ्च व्यस्थापन तथा अन्य तयारीका लागि नेता कार्यकर्ताहरू जति खटिएका छन्, केन्द्रीय कार्यालय काठमाडौंमा शीर्ष नेताहरूको सक्रियता त्यो भन्दा बढि देखिएको छ । ३ दिनपछि सुरु हुने दशौं महाधिवेशनको तयारीका लागि नेताहरू पार्टी कार्यालयमा केन्द्रीत भएका छन् ।
विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर आएकाहरू आफ्नो जिम्मेवारी अनुसार कामका लागि खटिइरहेका छन् । महाधिवशेनको तयारी गर्न र गतिविधि बुझ्न शिर्ष नेताहरू त पार्टी कार्यालय पुगिरहेका छन् नै दैनिक ६ सयदेखि एक हजार नेता, कार्यकर्ताहरू पनि पार्टी कार्यालयमा भेटिन्छन् ।
१९ सय ९९ जना प्रतिनिधि सहभागि हुने महाधिवेशनको उद्घाटनमा झण्डै ५ लाख मानिस जम्मा हुने एमालेको दाबी छ । नेता कार्यकर्ताको चुस्त व्यवस्थापन गरि सफलता पूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरू पनि खटिइरहेका छन् । महाधिवेशनलाई प्रविधिमैत्री बनाउने भन्दै एमालेले २२ वटै भ्रातृ सङ्गठनलाई परिचालन गरेको छ ।
पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार यस पटकको महाधिवशेनलाई नमूना बनाउने गरी काम भइरहेको छ । संसदको सबैभन्दा ठूलो दल एमालेले झन्डै ४ वर्ष सरकारको नेतृत्त्व ग¥यो । दशौं महाधिवेशनले चुन्ने नेतृत्वले एमालेलाई थप शक्तिशाली बनाउने विश्वास नेता कार्यकर्ताको छ । कोरोना महामारीलाई ध्यानमा राखेर महाधिवेशन स्थलमा १ सयभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी खटाउने तयारी एमालेको छ ।