एमाले सुनसरीमा भण्डारी समूहको शुभकामना कार्यक्रम बस्नेत समूहद्वारा बहिष्कार

[sharethis-inline-buttons]

धरान । सुनसरी क्षेत्र नम्बर १ बाट छनौट भएका केन्द्रीय महाधिवेसन प्रतिनिधीलाई शुभकामना दिन आयोजना गरिएको एक कार्यक्रममा रमेश बस्नेत समूहले बहिष्कार गरेका छन् । जेठ २ अघिको नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएको रमेश बस्नेत समुह र पुष ५ पछि बनेको रेवती रमण भण्डारी समुह बिच नेतृत्वको विवाद चुलिदै गएकाले एक अर्काको कार्यक्रमनै बहिष्कारमा उत्रिएका छन् । भण्डारी समूहबाट गठन भएको हर्कजंग एभेङ नेतृत्वको धरान उपमहानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत समूह उपस्थित नभएको हो । शनिबार एमाले सुनसरीले क्षेत्र नम्बर एकमा दुवै समूहबाट प्रतिनिधीत्व हुने गरि ९ जनाको नाम छनौट गरेको थियो ।

प्रतिनिधी छनौट भएका रमेश बस्नेतसहित संघीय सांसद जय कुमार राई र महिला प्रतिनिधी रुफिना गुरुङ (राई) कार्यक्रममा अनुपस्थित रहेका थिए । धरान उपमहानगरमा बस्नेत समुहबाट ५ वडामा छुट्टै कमिटी बनेको छ भने भण्डारी समूहबाट सोही वडामा कमिटी बनेको छ । अन्य वडामा भने संयुक्त रुपमा कमिटीहरू गठन भएका छन् । उपमहानगर पनि दुवै समूहको छुट्टा छुट्टै कमिटी गठन भएको छ । बस्नेत समुहबाट नारायण सुवेदीको अध्यक्षतामा कमिटी बनेको छ भने भण्डारी समूहबाट हर्कजंग एभेङको नेतृत्वमा कमिटी गठन भएको थियो ।

आइतबार एभेङ नेतृत्वको उपमहानगर कमिटीले धरानबाट महाधिवेसनमा छनौट भएका प्रतिनिधीहरूलाई शुभकामना कार्यक्रम राखेको थियो । बस्नेत समूहबाट ३ जना प्रतिनिधी छनौट भएका थिए तर कार्यक्रममा कोही पनि उपस्थित भएनन् । यता भण्डारी समूहका ६ जनाको मात्रै उपस्थित रहेको थियो । बस्नेत समूहका प्रतिनिधिको अनुपस्थितिले पार्टी एकता अझै पनि संकटमा रहेको नेता तथा कार्यकर्ताहरूले टिप्पणी गरेका छन् ।

कार्यक्रममा बस्नेत समूहका तिनै जना महाधिवेसन प्रतिनिधीलाई निम्तो गरिएको थियो । उपमहानगर समितिका अनुसार संघीय सांसद जयकुमार राई काठमाण्डौं जानु पर्ने भएकाले अनुपस्थित हुने जानकारी गराएका थिए, बस्नेतले जिल्लामा केही काम भएकाले समय मिलाएर आउने जनाएका थिए भने महिला प्रतिनिधि गुरुङले बिहान सम्म कार्यक्रममा आउने बताएकी थिइन् । जिल्ला कमिटीले गरेको केन्द्रीय प्रतिनिधी छनौटको निर्णय स्वीकार गर्ने तर त्यही कमिटी मातहत रहेको धरान उपमहानगर कमिटीको कार्यक्रम बहिष्कार गर्ने कामले पार्टी प्रतिको नकारात्मक सन्देश बाहिर गएको कार्यकर्ताको भनाइ छ ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार