
काठमाडौं– पत्रकारहरुले राजनीतिक दलको महाधिवेशनअन्तर्गत विभिन्न तहको चुनावमा उम्मेदवारी दिएकाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोमा ध्यानाकर्षण भएको जनाएको हो।
पत्रकारहरु दलको कार्यकर्ताका रुपमा प्रतिनिधि चयन भएको विषयमा विभिन्न क्षेत्रबाट भएको आलोचना र टिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ।
महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले महासंघको केन्द्रीय समिति, प्रदेश वा शाखा समितिका पदाधिकारी तथा सदस्यहरु उक्त पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने व्यवस्था गरेको छ।