
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका आंशिक भू–भागमा मौसम बदली रहने बताएको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण सामान्यता मौसम सफा रहने छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा हाल प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।
यस्तै प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा भनिएको छ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।