विस्तृत शान्ति सम्झौैता भएको आज १५ वर्ष पूरा

[sharethis-inline-buttons]

काठमाडौं । नेपालमा विस्तृत शान्ति सम्झौैता भएको आज १५ वर्ष पुरा भएको छ । सशस्त्र सङ्घर्षमा रहेको नेकपा माओवादी र नेपाल सरकारबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको थियो ।

विस्तृत शान्ति सम्झौतापछि तत्कालीन माओवादी राजनीतिको मुलधारमा आएको थियो । उक्त शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको थियो । सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पु¥याउने विषयलाई प्राथमिकता दिइएको थियो ।

सम्झौतामा उल्लेख भएअनुसार सेना समायोजन भइसकेको छ भने जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ । तर, सङक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । त्यसैगरी द्वन्द्वकालमा घाइते र उपेक्षित वर्गले पनि उचित न्याय पाउन नसकेको गुनासो गर्दै आएका छन् ।


प्रकाशित : २०७८ मंसिर ५ आईतवार