काठमाडौं – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा उपस्थित हुने अन्तर्राष्ट्रिय पाहुनाको संख्या तुलनात्मक रूपमा कम हुने आकलन पनि गरिएको छ । सो पार्टीको महाधिवेशनका लागि गठित अतिथि सत्कार कमिटीका संयोजक डा राजन भट्टराईले उपस्थित नहुने पाहुनाले सफलताको शुभकामना सन्देश पठाएको जनाए ।
अहिलेसम्म भारतबाट तीनवटा पार्टी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिसस्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेसन पार्टीले आउने निश्चित गरेका छन् । फरर्वाड ब्लकले पनि महाधिवेशनमा आउने निश्चित गरेको जनाइएको छ ।
त्यसैगरी, बंगलादेशको कम्युनिस्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ भने रिभोलेसनरी वर्कर पार्टी र श्रीलंकाबाट जेभीपी पार्टीका प्रतिनिधि आउने बताइएको छ ।
एमालेका विदेश विभाग प्रमुख भट्टराईका अनुसार कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीका प्रतिनिधिले आउने निश्चित गरेको र फ्रेन्च कम्युनिस्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने निश्चित गरेको छ ।
युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरूले आउने चासो राख्दाराख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने भएका छन् । दक्षिण एसियाका अरू रुलिङ पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीले आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भएका छन् ।
दक्षिण कोरिया, भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा टुंगो गर्ने भएका छन् । नेता भट्टराईका अनुसार अहिलेसम्म बेल्जियम र आयरल्यान्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीनवटा पार्टीले शुभकामना सन्देश पठाउने भएका छन् ।
देशभित्रको संघीय संसद्मा रहेका सातवटा राजनीतिक दललाई महाधिवेशनको उद्घाटनसत्रमा निम्ता दिइएको छ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई यही मंसिर ३ गते एमाले नेता सुवास नेम्वाङसहितको टोलीले निमन्त्रणापत्र हस्तान्तरण गरेको छ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य दलका अध्यक्षलाई पनि निमन्त्रणा दिइएको छ ।
“हामीले देशभित्रका कूटनीतिक नियोगका प्रमुखहरूलाई पनि निम्ता गरेका छौँ, कतिपय प्रमुखहरूले आउने भनेर हामीलाई खबर पनि गर्नुभएको छ,” भट्टराईले भने ।
अन्तर्राष्ट्रिय पाहुनालाई ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौं आइपुग्न भनिएको र उनीहरूलाई १० गते बिहान काठमाडौंबाट चितवन लगिनेछ । चितवनमा उद्घाटनसत्रमा सहभागी गराएपछि उनीहरूलाई सौराहाको होटेलमा बस्ने व्यवस्था गरिएको छ ।
उनीहरूको सम्मानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गर्नेछन् । त्यससँगै पाहुनाहरूकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही सांस्कृतिक कार्यक्रमको आयोजना तथा उनीहरूलाई सौराहामा दृष्यावलोकन र जंगल सफारीको पनि योजना बनाइरहेको जनाइएको छ ।
कबचदयततबm अझभलत
काठमाडौंमा पनि उनीहरूको सम्मानमा भेटघाटको आयोजना गरिने जनाइएको छ । उनीहरूका लागि विधान महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनको सारांशलाई अंग्रेजी अनुवाद गरेर प्रकाशन गरिनेछ । विधान महाधिवेशन कसरी सम्पन्न भयो भन्ने जानकारीका लागि जानकारीमूलक ‘न्यु–एरा न्यु बुलेटिन’ प्रकाशन गरेर पनि उनीहरूलाई वितरण गरिनेछ । रासस