
सिरहा। सिरहामा सडक कालोपत्रेको काममा व्यापक अनियमितता भएको पाइएको छ । सिरहाको गोलबजार नगरपालिका–६ गोलचक्करदेखि उत्तर लामाटोलसम्म भइरहेको सडक कालोपत्रे काममा कमसल सामग्री प्रयोग गरी अनियमितता गरेको पाइएको हो । उक्त सडक खण्डको कालोपत्रेको काम सडक डिभिजन कार्यालयले ठेकेदारमार्फत गर्दै आएको छ । उक्त सडकको बेसदेखि पिचसम्म कमसल सामग्री प्रयोग गरिएको पाईएको छ । उक्त सडक गोलबजार नगरपालिका–६ गोलचक्करदेखि उत्तर लामाटोलसम्म ७ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको रहेको छ ।
स्थानीयका अनुसार कालोपत्रे भइसकेको सडक अहिले नै उप्किन थालिसकेको छ । नजिकैको खेतबाट धुलोमाटो भएको ग्राभेल खन्याएर बेस तयार पार्ने काम भएको स्थानीयहरु बताउँछन् ।‘बालुवामाटोमाथि झारु मारेर गरिएको कालोपत्रे कति समय टिक्ला? कालोपत्रे सडक कतिपय स्थान चर्किसक्यो, कति ठाउँमा उप्किसक्यो,’ स्थानीयको गुनासो रहेको छ । कालोपत्रे सडक निर्माण कार्यमा अनियमितता भएको स्थानीयको व्यापक गुनासोपछि साइट इन्जिनियर नरेश चौधरी निर्माणस्थलमा आएको स्थानीय बताउँछन्। स्थलगत निरीक्षणपछि उनले पनि काम गुणस्तरहीन भएको स्थानीयसमक्ष स्वीकार गरेका थिए।
यता उक्त कालोपत्रे सडक निर्माण प्रयोग भएका सामाग्री कमसल भएको साइड इन्जिनियर नरेश चौधरी स्विकार्छन् । ‘बेसको ग्राभेलमा माटोको मात्रा पाइएको थियो। त्यो बेला हामीले ठेकेदारलाई सच्याउन लगायौं । कालोपत्रेको काम अहिले नगर्नू भन्दाभन्दै रातारात गरिहालेछन्।’ उनले भने ।
सडक डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७७/७८ मा ४५ प्रतिशत तल झरेर विकास निर्माण सेवा र जेएनएस जेभीसँग २ करोड १९ लाखमा सडक कालोपत्रेको सम्झौता गरेको थियो । उक्त सडकको कालोपत्रेका लागि लागतअनुमान ५ करोड गरिएको छ ।