आज ६ शताब्दीयताकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै

[sharethis-inline-buttons]

काठमाडौं । आज ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्न लागेको हो । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको खगोलविद्हरूले बताएका छन् । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ ।

चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्छ तर विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्छ । यो खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ ।

 


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार