प्रधानन्यायाधीश जबरालाई आज दिउँसोसम्म राजीनामा दिन बारको अल्टिमेटम

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज दिउँसो ३ बजेसम्म राजीनामा दिन समयसीमा दिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्न बारले धर्ना दिँदै आएकोमा आज ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने बार एशोसियसनका सदस्य खिमानन्द अधिकारीले बताउनुभयो ।

सर्वोच्च अदालतको बाहिर बारको नेतृत्वमा हुँदै आएको धर्नामा प्रहरीले दमन गरेको भन्दै कानुन व्यवसायीले भने अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । हिजो भएको आन्दोलनको क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रहरी दमन मानव अधिकारविरुद्धको विषय रहेको भन्दै अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिनुभयो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गरेको छ । बार एशोसिएसनको नेतृत्वमा भएको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको थियो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गर्नुभएको हो ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार