
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउन सहमत भएका छन् । प्रधानन्यायाधीश जबराले आज नै बैठक बोलाउनको लागि तयारी सुरु गरि सकेको बताइएको छ । प्रधानन्यायाधीश जबराले फुलकोर्ट वैठक राख्न मुख्य रजिष्ट्रारलाई निर्देशन दिइसकेका छन् ।
प्रधानन्यायाधीश जबराको सचिवालय स्रोतका अनुसार अन्य न्यायाधीशको आग्रह बमोजिम प्रधानन्यायाधीशले नियमावली संशोधनको एजेण्डासहित फुलकोर्टको बैठक बोलाएका हुन् । बिहीबार नै फुलकोर्टको बैठक राखी सम्भव भएसम्म सर्वसम्मति र सर्वसम्मति हुन नसकेमा बहुमतका आधारमा सर्वोच्च अदालत नियमावली संशोधन गर्ने तयारी गरिएको छ ।
नियमावली संशोधन गर्नका लागि सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकबाट निर्णय गर्नुपर्ने हुन्छ । नियमावलीको नियम २० मा रहेको प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत गर्नेछ ।