
काठमाडौं । कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पिडितलाई राहत दिने भएको छ । मुगुको गमगढीमा आगलागी हुँदा २१ घर जलेका थिए । उनीहरूलाई कार्यविधि बनाएर पुननिर्माणका लागि सहयोग गर्ने मुख्यमन्त्री जीवन बहादुर शाहीले बताउनुभयो । के कति सहयोग गर्ने भन्ने विषयमा स्थलगत अवलोकन गरि प्रदेश सरकारले कार्यविधि बनाएर राहत दिने मुख्यमन्त्री शाहीको भनाइ छ ।
यसैबीच दमकल नहुँदा मुगुको गमगढीमा समयमै आगो निभाउन नसकिएको स्थानीयबासीले बताएका छन् । मुगु सदरमुकाम गमगढीमा अस्ति राति आगलागी हुँदा २१ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए । स्थानीय सरकारसँग दमकल नहँुदा लाखौं रुपैयाँ बराबर धनमालको क्षति भएको छ । घरमा बालिएको दियोबाट आगो सल्किएको थियो ।
लहरै जोडिएका घर भएकाले एक घरबाट अर्को घरमा आगो पुगेपछि निभाउन एउटा घर भत्काउनु परेको मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले बताउनुभयो । छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले पालिकाको आकस्मिक बैठक बसी प्राप्त स्रोत साधन अनुसार राहत स्वरुप नगद प्रदान गर्ने जानकारी दिनुभयो । धनमालको क्षति बारे पनि एकिन विवरण आईसकेको छैन ।