गौतमबुद्ध रंगशालाको अपनत्व लिइदिन सरकारलाई धुर्मुस सुन्तली फाउण्डेशनको आग्रह(भिडियोसहित)

[sharethis-inline-buttons]

काठमाडौं – धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गर्न सरकारलाई आग्रह गरेको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले मंगलबार एक भिडियोबाट रंगशालाको अपनत्व ग्रहण गर्न संघिय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।

कट्टेलले आर्थिक समस्याका कारण रंगशाला निर्माण कार्य रोकिएको बताउँदै सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् । उनले हरेक स्थानीय सरकार, प्रदेश सरकारदेखि सिंहदरबारको ढोकामा पुगेपनि सोचेजस्तो सहयोग नपाएको गुनासो गरेका छन् । कट्टेलले रंगशाला निर्माणको क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्।

रंगशाला निर्माणको कामबाट हात झिकेको वा जिम्मेवारीबाट भागेको नभई सरकारलाई सहयोगका लागि आह्वानमात्र गरेको बताएका छन्। कट्टेलले रंगशाला निर्माणको कामबाट बिचलित नभएको र चाडै पुरानै रफ्तारमा रंगशाला निर्माणको काम अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् ।  उनले केहि दिनमा रंगशाला निर्माणको विवरण र भोगाई सार्वजनिक गर्ने समेत बताए ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार