
काठमाडौँ – नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् ।
मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकाे मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् । ‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छाैं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन् ।
केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उनकाे भनाइ छ ।
नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए ।
११ पुष २०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुन् । उनी २०३९ सम्म मालेको महासचिव रहे । २०४७ सालपछि विभिन्न कम्युनिष्ट पार्टी र नेकपा मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो । २०५४ सालसम्म मैनाली एमाले मै थिए ।
११ फागुन २०५४ मा एमाले विभाजित भएपछि वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली पनि लागे । फागुन २०५८ मा वामदेव गौतमलगायतका नेता पुनः एमालेमा गएपछि मैनाली मालेमै रहेर पार्टी सुदृढिकरणको काम गर्दै आएका छन् ।