आज हरिबोधिनी एकादशी,तुलसीको विवाह गर्ने दिन

[sharethis-inline-buttons]

काठमाडाैं । आज हरिबोधिनी एकादशी मनाइँदै छ । एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रुपमा हरीबोधिनी एकादशीलाई लिने गरिन्छ । आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास पनि रही आएको छ । आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ ।

चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप मानिने पिपलसँग विवाह गरिदिने परम्परा रहेको छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्व रहेको छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । हरिबोधनी एकादशीको दिन आज काठमाडौँका बुढानीलकण्ठ र नागार्जुन नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार