
काठमाडौँ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ ।
नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।
छनोट खेल भने आगामी मङ््सिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ । छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा यसअघि भइसकेको छ । नेपाली टोलीमा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन् ।