
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ । विश्वकपको उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आजको खेल नेपाली समय अनुसार साँझ ७ ; ४५ मा सुरु हुनेछ । आजको खेलमा मैदान उत्रदा दुबै टिम पहिलो पटक टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् ।
त्यसैले दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी–ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेको छैन । अष्ट्रेलिया दोस्रो पटक टी–ट्वान्टी विश्वकपको फाइनल पुगेको हो भने न्युजिल्याड पहिलोपटक फाइनलमा पुगेको हो । जारी विश्वकपमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो भने न्युजिल्याण्डले सेमिफाइनलमा एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो । दुई टिमबीचको पछिल्लो हेड टु हेडमा न्युजिल्याण्ड बलियो देखिएको छ ।