काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक गएराति भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
उनले मृतक कसैको पनि सनाखत हुन नसकेको पनि बताएका छन् । राति करिब सवा १० बजेको समयमा यू.के. १२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको प्रहरीले बताएको छ । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनाको केही समयपछि बम नहरनजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट समेत थप मद्दत मागेर घटनास्थल पुगेर कारको सीसा फुटाएर भित्र रहेकाहरूलाई निकालिएको डीएसपी चिमरियाले बताए। मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । दुर्घटनामा परेको कारलाई क्रेनको सहायताले राति नै पानीबाट निकालेर जिल्ला प्रहरी लगिएको छ । प्रहरीले भारतीय सुरक्षाअधिकारीहरूसँग समन्वय गर्न लागेको जनाएको छ ।