एमाले महाधिवेशन प्रतिनिधि : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत

[sharethis-inline-buttons]

काठमाडौँ – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए । उनले सहमति हुन नसकेका जिल्लामा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताए ।

एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले आज चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । विधान महाधिवेशन सकाएको एमालेले अवको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार