
काठमाडौँ – जनकपुरमा दुई समूहबीच झडप भएपछि निषेधाज्ञा जारी गरिएको छ । शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ ।
शनिबार अपरान्हदेखि लगाइएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म लागू रहने प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।