छिमेकी, साँध र साग

[sharethis-inline-buttons]

घामले नदेखेको मौका छोपेर
हरेक रातजसो
मेरो छिमेकी
हाम्रो साँधको ढुंगा
अलिकती भित्र सार्छ
र बिहानै
एक मुठा साग लिएर घरमै आइपुग्छ
भन्छ स् साग खाने बानी गर्नोस्
स्वास्थलाई राम्रो गर्छ ।

उसैले दिएको साग खाएर
स्वस्थ भएका मेरा आँखाले
हरेक बिहान नाप्छन्, मिचिएको जमिन
तर आँखा बोल्दैनन्
बोलेपनी सुस्तरी बोल्छन्
छिमेकीले नसुन्नेगरी

बहिरो छैन मेरो छिमेकी
बरू हट्टाकट्टा छ म भन्दा
सुनाउछ स् साग खाएरै हो, म यस्तो भएको
साग खाने बानी गर्नोस्
स्वास्थ्यलाई राम्रो गर्छ ।

अझै पनि छ
साग रोप्न पुग्ने जमिन मसँग
नभएको त जाँगर मात्रै हो
छन त इतिहास पनि छ
छिमेकीको भन्दा गौरवमय
हराउन लागेको बर्तमान मात्र हो
बेपत्ता भएको भविष्य मात्र हो

सम्झिन्छु
हजुरबाको पालासम्म
छिमेकीले पानी खाने कुवा हाम्रो थियो
बाको पालासम्म
आँपको रूख हाम्रो थियो

अहिले त
तुलसीको मठ
आधा मेरो छ
आधा उसको छ


प्रकाशित : २०७८ कार्तिक २७ शनिबार