
विनय यादव
सिरहा -सिरहाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को अन्त्यमा १४ लाख २६ हजार ४ सय ५० रुपैयाँको स्यानेटरी प्याड खरिद गर्यो । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क वितरण गर्न २०७७ असार ३१ मा आरपी सप्लायर्सबाट ६० रुपैयाँ ७० पैसाका दरले २३ हजार ५ सय प्याकेट स्यानेटरी प्याड खरिद गरेको थियो ।
स्यानेटरी प्याड खरिद भएको झण्डै एकवर्ष ३ महिनाबढी भइसकेको छ । तर, नगरपालिकाले अझै वितरण भने गरेको छैन । खरिद गरेर ल्याएपछि कल्याणपुर ३ स्थित जनता मावि करुन्याहीको सभाहलमा राखिएको स्यानेटरी प्याड अहिले पनि त्यहीँ थन्किएको छ ।
जनप्रतिनिधिको बेवास्ता र लापरवाहीले हालसम्म पनि वितरण नहुँदा खरिद गरेर राखिएको प्याड कुहिनै लागेको छ । तर, छात्राहरुले भने खरिद गरेर प्याड प्रयोग गरिरहेका छन् ।
नगरपालिकाले प्याड खरिद गर्दा बन्दाबन्दी थियो । विद्यालयहरु बन्द थिए । तैपनि नगरपालिकाले प्याड खरिद गर्यो । यसरी बन्दाबन्दीको अवस्थामा बजेट सिध्याउनकै लागि प्याड खरिद गरिनुलाई महालेखाले अनियमित भनेको छ ।
बन्दाबन्दीको अवस्थामा प्याड खरिद गरिएको भएपनि विद्यालय खुलेपछि पनि वितरण नहुँदा स्थानीय जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीप्रति नगरका शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन् ।
बन्दीबन्दीका कारण ५–६ जति विद्यालय बन्द रहेपनि बाँकी समय भने सञ्चालन नै भए । तर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दास भने विद्यालय बन्द रहेकाले वितरण गर्न नसकेको बहाना बनाएर पञ्छिन खोज्छन् ।