जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

[sharethis-inline-buttons]

कौरव खत्री

बागलुङ २५ कात्तिक । बागलुङ गलकोटका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका सह सचिव एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुलाई २० हजार मूल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिनुभयो ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता तुलवीर थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी थापाको भनाई छ ।

थापाले विद्यार्थीहरुलाई कपी,कलम सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।जन्मदिनको सुखद अवसर पारेर थापाले जनहित माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी विपसा थापा र प्रचण्ड बुढाथोकी,विपन्न तर्फ विद्यार्थी लभिसा खड्कालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक भविन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यस्तै थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी सुप्रिया केसी र दिप्लव श्रीस,विपन्न तर्फ विद्यार्थी सृष्टी विश्वकर्मालाई शैक्षिक सामाग्री सहयोग गरेको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो । उक्त शैक्षिक सामाग्री गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।

सोही अवसरमा वडा सदस्य लोक बहादुर थापा र जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक देव बहादुर खत्रीले थापालाई जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

दुवै विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग प्रदान गर्ने थापालाई विद्यालयले सम्मान पत्र समेत प्रदान गरेका छ ।

सहयोगी थापा जनहित माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालय मल्मका अक्षयकोषकर्ता,सहयोगी एवं पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई हाल जापानमा कर्म गरिरहेका युवा समाजसेवी तुलबीर थापाले सामाजिक संघ संस्थाहरुमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनु भएको छ ।


प्रकाशित : २०७८ कार्तिक २६ शुक्रबार