पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ६ विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

[sharethis-inline-buttons]

काठमाडौँ – नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ६ विद्यार्थी संगठनको संयुक्त मोर्चा विरोधमा उत्रिने भएको छ । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौंसहित ६ विद्यार्थी संगठनको संयुक्त मोर्चाले निगमलाई मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोधका कार्यक्रम तय गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन मागसहित मोर्चाका तर्फबाट बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो साढे ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।

निगमले १२ दिनको अन्तरालमा इन्धनको मूल्य बढाएपछि आफूहरू विरोधमा उत्रिनु परेको विज्ञप्तिमा उल्लेख छ । संघर्षका कार्यक्रममा कात्तिक २६ गते बिहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धक लगायतका कर्मचारलाई प्रवेश निषेध तथा घेराउ गर्ने , कात्तिक २८ गते प्रदर्शनी मार्गमा दिउँसो २ बजे खाली सिलिन्डर प्रदर्शन गर्ने, कात्तिक ३० गते देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध प्रदर्शन गर्ने र मंसिर २ गते माइतीघर मण्डलामा सडक बहस कार्यक्रम आयोजना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रूपैयाँ मूल्य बढाएको थियो ।


प्रकाशित : २०७८ कार्तिक २५ बिहीबार