
२४ कात्तिक, काठमाडौं । सिन्धुली सदरमुकाममा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी गएका थिए ।
तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।