
काठमाडौं । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वमा सूर्यको पूजा, आराधना गरिन्छ । आजको दिन व्रतालुले निर्जला व्रत बस्ने गर्छन् । आज व्रत बसेकाहरु साँझपख जलाशयमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गर्दछन् ।
आज अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ पर्व समापन हुन्छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कोरोना महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको बताउनुभयो । उहाँले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।