पाँच दलीय गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेशसभाको उपचुनावमा सहकार्य गर्ने

[sharethis-inline-buttons]

काठमाडाैं । सत्ता गठबन्धनमा रहेका पाँच दलले आउँदो राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेशसभाको उपचुनावमा सहकार्य गर्ने भएका छन् । पाँच दलीय गठबन्धनको हिजो बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा र उपचुनावमा सहकार्य गर्ने निर्णय गरेको काँग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले गठन्धनलाई बलियो बनाउन समन्वय समितिसमेत गठन गरेको छ । समितिमा प्रत्येक दलबाट दुई/दुई जना सदस्य रहने र आलोपालो प्रणालीका आधारमा दुई/दुई महिना संयोजकको भूमिका खेल्ने निर्णय भएको उहाँले बताउनुभयो । समितिमा काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ रहने निर्णय भएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट अध्यक्ष माधव नेपाल र जसपाबाट अध्यक्ष उपेन्द्र यादव रहने तय भएको छ ।

दुवै दलबाट एक/एक जना सदस्य सिफारिस गर्न बाँकी छ । समन्वयन समितिको बैठकमा प्रधानमन्त्री उपस्थित हुने सहमति भएको छ । आउँदो माघ ५ गतेभित्र राष्ट्रिय सभाका २० सिटमा चुनावमा हुँदैछ भने लगत्तै प्रतिनिधिसभाको चार र प्रदेशसभाको रिक्त १८ स्थानमा उपचुनाव गर्ने तयारी सरकारको छ ।


प्रकाशित : २०७८ कार्तिक २३ मंगलवार