काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए ।
यस अघि प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको पनि बताए । त्यस्तै वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिनु भएको हो ।