
संखुवासभा । सभापोखरी गाउँपालिका ६ बाह्रविसेमा दुई जना बालकहरुलाई सभाखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
अर्का एक जना बेपत्ता भएका छन् । भाईटिकाको दिन बिहान ९ बजे ८ वर्षीय बिपन विश्वकर्मा र ९ वर्षीय ऋतिक विश्वकर्मालाई खोलाले बगाएको हो ।
बाह्रविसे बजार नजिकैको सभाखोलामा पौडि खेल्न गएका उनीहरु मध्ये विपनको शव करिब ५ सय मिटर तल खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ऋतिक अझै विपत्ता छन् । बिपनको शव पोष्ट मार्टमको लागि खाँदबारी अस्पताल ल्याइएको छ ।
सभापोखरी १ का ऋतिक सभापोखरी ६ स्थित मावलीमा पाहुना गएका थिए । भाईटिका लगाउनका लागि घर नजिकैको सभाखोलामा नुहाउन गएका उनीहरुलाई खोलाले बगाएको हो ।
भाईटिकाको साईत भईसक्दा पनि उनीहरु घर नफर्किएपछि खोलामा खोज्न जाँदा खोला किनारमा लुगा फुकालिएको मात्र भेटिएको स्थानीयले बताएका थिए । त्यसपछि खोलाले बगाएको आशंका गरि प्रहरीलाई खबर गरेका थिए । ऋतिकको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।