
२० कार्तिक, काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहार पर्वलाई खुशीयालीका साथ मनाउन अनुरोध गर्नुभएको छ ।
भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गर्नुभएको छ ।
सन्देशमा कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ । बिभिन्न राजनीतिक दलका नेताहरूले पनि तिहारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।