
१९ कार्तिक,काठमाण्डौ ।प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् ।
विभिन्न वर्ग, जाति र समुदायका नागरिकको बसोबास समाजमा भए पनि सबैको आर्थिक अवस्था एकै हुँदैन । सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, परिवार र सदस्यहरू ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्थामा पुग्ने गरेको सरकारकै बिभिन्न अध्ययनहरूले देखाएका छन् ।
तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र खानपानमा अत्यधिक खर्च गर्ने परिपाटीको विकास हुँदै गएको भन्दै विज्ञहरूले परिवर्तनका लागि एकै व्यक्तिले भए पनि सुरुवात गर्नुपर्नेमा जोड दिन्छन् ।
अर्थविद् डा जनार्दन आचार्यले तडकभडक रोक्ने कानुन भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या बढेको बताउनुभयो । चाडपर्व मनाउने बारेमा घरपरिवारका सदस्यकाबीचमा छलफल भएमा अनावश्यक खर्च र ऋणको भारी बोक्न नपर्ने उहाँको भनाइ छ ।
सामाजिक व्यवहार सुधार ऐनका अनुसार भड्किलो रुपमा पर्व मनाउने, घर सजाउने लगायत कार्य गर्नेलाई स्थानीय सरकारले सचेत गराउनुका साथै अटेर गरेमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस पनि गर्न सक्छन् ।