
१८ कार्तिक,काठमाण्डौ ।आज प्रदेश १ को पहाडी भूभागका एकदुईस्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभावले आज प्रदेश १ को पहाडी भूभागका एकदुइ स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभरका पहाडी क्षेत्रको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम भने सफा रहने छ ।
यस्तै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।
यस्तै राति देशको पहाडी भेगमा आंशिक बदली हुँदा अरु ठाउँको मौसम भने सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । राति मौसम सफा हुँदा बिहान चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभएको छ ।