राहतमा गोलमाल : दलितलाई आएको राहत ट्र्याक्टरमा लोड गरेर लग्दै गर्दा स्थानीयले समाते

[sharethis-inline-buttons]
सिरहा – सिरहाको कर्जन्हा नगरपालिकामा दलितका लागि आएको राहत ट्याक्टरमा लोड गरेर लगिदै गर्दा स्थानीयले समातेका छन् ।
टीजेडयु सीएचआइ फाउन्डेसन नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले दलित सरोकार मञ्च, सप्तरी नामक गैर सरकारी संस्थामार्फत् नगरपालिकालाई खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो । त्यसबाट केही राहत सामाग्री नगरपालिकाले वितरण पनि गरेको थियो ।
तर, बाँकी रहेका राहत सामाग्री भने मंगलबार साँझ कर्जन्हाका मेयर गंगा पासवानका भाइ बलि पासवानको प्रत्यक्ष उपस्थितिमा ट्याक्टरमा लोड गरेर लगिँदै गर्दा स्थानीयले समातेका हुन् । राहत सामाग्री स्टक गरेर राखिएको कर्जन्हास्थित जनसेवा मावि परिसरमै स्थानीयहरुले दुई वटा ट्याक्टर घेरेका थिए ।
स्थानीयका अनुसार, दुबै ट्याक्टरमा गरि करिब ८०–९० पोका चावलसहित अन्य खाद्यान्न सामाग्री लोड गरिसकिएको थियो । ट्याक्टरमा लोड हुँदै गर्दा स्थानीयले घेरेपछि मेयरका भाइको निर्देशनमा चालक ट्याक्टर लिएर भागे । यस विषयमा कर्जन्हाका प्रमुख प्रशासकीय अधिकृत जगदिश मण्डलले भने आफूलाई केही पनि जानकारी नभएको बताएका छन् ।
नगरपालिकामा कति राहत आएको र कति वितरण भएको बारे पनि उनले बताउन चाहेनन् । राहत दलित नागरिकका लागि आएपनि केहि राहत वितरण गरेर जनप्रतिनिधि तथा कर्मचारीले बाँकी राहत पटकपटक गरी यहाँबाट लगेको स्थानीयको भनाइ छ ।

प्रकाशित : २०७८ कार्तिक १७ बुधबार