संकटको बेला जताततै मौलायो कालोबजारी

[sharethis-inline-buttons]

आशिष बहादुर सिंह
बझाङ -बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण सडक सञ्जाल तहसनहस भएको व्यापारीले मौका छोप्दा बझाङमा कालोबजारी मौलाएको छ । खाना पकाउने ग्यास, पेट्रोल, डिजेलजस्ता अत्यावश्यक सामानको मूल्य बढाएर लुकाएर बेच्न थालिएको छ । दैनिक उपभोग्य सामानको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको पाईन्छ  ।

केही दिनअघिसम्म प्रतिसिलिन्डर १ हजार ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको एलपी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर ४ हजारसम्ममा बेच्ने गरिएको उपभोक्ताले गुनासो गरेका छन् । ग्यासको कृत्रिम अभाव भएको हो ।

अघिल्लो साता प्रतिलिटर १ सय ४० मा बिक्री हुने गरेको पेट्रोलको मूल्य पनि १ सय ८० रुपैयाँ पुगेको छ । प्रतिलिटर सयमा बिक्री भइरहेको डिजेलको मूल्य बढाएर १ सय ५० रुपैयाँ पु¥याइएको स्थानिय दिपक जोशिले बताए । उनले विपद्को फाइदा उठाउँदै कालोबजारी गर्नेहरूलाई स्थानीय तह र जिल्ला प्रशासनले कारबाही गर्नुपर्नेमा चासो नदिएको आरोप पगाएका छन् ।

यातायात बन्द भएको फाइदा उठाउँदै व्यापारीहरूले खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको मूल्यमा पनि वृद्धि गरेका छन् । चामल, दाल, खानेतेल, चिनी, बिस्कुट, चाउचाउको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको छ । ‘बाढीपहिरो गएपछि बजारमा सबै सामानको मूल्य बढेको छ । हप्ता दिनमै ५० रुपैयाँ पर्ने एक किलो चामलको मुल्य ६० रुपैयाँ पु¥याइएको छ । १ सय रुपैयाँमा पाइने गरेको आधा लिटर भटमासको तेललाई अहिले १ सय ५० रुपैयाँ तिर्नुपर्छ,’ सुर्मा घर भएर सदरमुकाममा बस्दै आएकी जानकी बोहराले बताईन् ।

सदरमुकाम मात्रै नभएर जयपृथ्वी राजमार्गसँग जोडिएका सबैजसो बजार र ग्रामीण भेगका पसलमा पनि दैनिक उपभोग्य बस्तुको मूल्य अत्यधिक बढेको स्थानीयको भनाइ छ । कतिपय व्यापारीहरूले कृत्रिम अभाव देखाएर सर्वसाधारणलाई सामान नदिने तर आफूले चिनेजानेकालाई बढी मूल्य लिएर सुटुक्क बिक्री गर्दै आएका उनीहरूको गुनासो छ ।

बाढीपहिरोका कारण बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध छ भने अन्य सबैजसो ग्रामीण सडक पनि ठप्प छन् । सदरमुकाम चैनपुरदेखि तमैलसम्म र छविस पाथीभेरा गाउँपालिकाको मालुमेलादेखि नारुगौडासम्म जयपृथ्वी राजमार्गको अवरोध हटाएपछि बुधबारबाट यातायात सञ्चालन भएको छ । यहाँ पनि जिपले मनपरी भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् ।

‘चैनपुरदेखि तमैलसम्म ११ किलोमिटरको प्रशासनले तोकेको भाडा ८० रुपैयाँ हो,’ मष्टा गाउँपालिकाका रामचन्द्र रोकायाले भने, ‘अहिले २ सय रुपैयाँ लिइरहेका छन् । मालुमेलादेखि नारुगौडासम्म १५ किलोमिटरको भाडा ३ सय रुपैयाँ लिइरहेका छन् । विपद्मा परेका यात्रुहरू खुलेयाम लुटिइरहेको बेलामा यसलाई रोक्न कसैले पनि ध्यान दिएको देखिँदैन ।’ उनले कतिपय वृद्ध, बिरामी र बालबच्चा बोकेका यात्रुहरू महँगो भाडा तिर्न नसकेर सकिनसकी हिँडेरै गन्तव्यमा पुगिरहेको सुनाए ।

जयपृथ्वी राजमार्गको दक्षिणी खण्डमा भएको अवरोध हटाएपछि मंगलबार केदारस्युँको नारुगौडाबाट जिल्लाबाहिर बसहरू सञ्चालन हुन थालेका यो रुटमा सञ्चालन भएका बसहरूले पनि मनपरी भाडा लिइरहेका यात्रुहरू बताउँछन् । विपद्ममा परेका नागरिकहरू कालोबजारी गर्नेहरूबाट चौतर्फी लुटिइरहेको भए पनि यसलाई नियन्त्रण गर्न सक्रिय हुनुपर्ने जनप्रतिनिधि र प्रशासनले मौन रहनु आश्चर्यजनक भएको नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले बताए ।

‘राज्य नागरिकप्रति कति जिम्मेवार छ भन्ने कुरा विपद्का बेला देखिने हो तर बझाङमा भइरहेको कालोबजारी देखे पनि नदेखे झैं गरेर सबै सुतेका छन्। जनप्रतिनिधि, नेता र स्थानिय प्रशासनको यो मौनता अचम्मलाग्दो छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी भने ग्यासलगायत दैनिक उपभोग्य सामानमा भइरहेको कालोबजारी नियन्त्रणका लागि प्रयास गर्ने बताए पनि यातायात व्यवसायीले गरेको भाडा वृद्धिमा हस्तक्षेप गर्न नसकिने बताउँछन् ।

‘बढी भाडा लिइएको गुनासो हामीसम्म पनि आइरहेको छ । यसो नगर्नुस् भन्दा तेल छैन, हामी गाडी चलाउँदैनौं भन्छन्,’ उनले भने, ‘कानुनी हिसाबले बढी भाडा लिनु अनुचित भए पनि गाडी नै नचल्नु भन्दा ठीकै छ भनेर चुप लाग्नु पर्ने अवस्था छ ।’ उनले दैनिक उपभोग्य सामानमा भइरहेको कालोबजारीको अनुगमन गरेर गलत गर्नेलाई कारबाही गरिने बताए ।


प्रकाशित : २०७८ कार्तिक १७ बुधबार